भरतपुर विमानस्थल विस्तार बागमती प्रदेशकै गौरवको आयोजना: प्रधानमन्त्री प्रचण्ड
भरतपुर | चैत १६, २०७९
चितवन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुर विमानस्थल विस्तार बागमती प्रदेशकै लागि गौरवको आयोजना भएको बताउनु भएको छ ।
चितवनको भरतपुरमा रहेको विमानस्थल विस्तार एवम् नयाँ बन्ने अत्याधुनिक टर्मिनल भवनको बिहीबार बिहान शिलान्यास गर्दै प्रधानमन्त्री प्रचण्डले त्यस्तो बताउनु भएको हो ।
भरतपुरमा रहेको सेनाको ब्यारेक भरतपुर -१ मा रहेको नेपाल ट्रष्टको नाममा रहेको दियालो बङ्गला क्षेत्रमा र घोडा फार्मलाई भरतपुर ११ गणेशस्थान क्षेत्रमा स्थानान्तरण गरी विमानस्थललाई विस्तार गर्न लागिएको हो ।
लामो समयको प्रयास, छलफल र प्रतीक्षापछि विमानस्थल विस्तारको काममा सहमति भएको बताउँदै प्रधानमन्त्रीले यो कामलाई सार्थकतामा परिणत गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो ।
विमानस्थलमा नयाँ बन्ने टर्मिनल भवनको लागि भ्याट बाहेक एक अर्ब २८ करोड रुपियाँमा ३६ महिनामा सम्पन्न गरी चैत ६ गते केसीश्यामदेवी–प्रतिष्ठा जेभीसँग सम्झौता भएको छ ।
उक्त अवसरमा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुजन किरातीले सेनाको ब्यारेक र घोडा फार्म स्थानान्तरण गर्ने निर्णय भइसकेको र कार्यान्वयनको काम मात्र बाँकी रहेको बताउनुभयो । उहाँले गुणस्तरीय काम गर्न र समयमा काम पूरा गर्न निर्माण कम्पनीलाई निर्देशन दिनुभयो ।
कार्यक्रममा नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले १९५८ सालमा स्थापना भएको भरतपुर विमानस्थल एटिआर ७२ र सोही किसिमका जहाज सहज अवतरण गर्न मिल्ने गरी विस्तार गरिने बताउनुभयो ।
उहाँले हाल रहेको ५८ बिघा विमानस्थलसँगै जोडिएको ७६ बिघा ब्यारेक क्षेत्रको घोडा फार्म रहेको १९ बिघा जमिनसहितमा धावनमार्ग बनाइने र बाँकी क्षेत्रमा आकर्षक पार्क निर्माण गरिने जानकारी दिनुभयो । शिलान्यास गरिएको टर्मिनल भवन १४ कट्ठा जमिनमा दुई तलाको सुविधा सम्पन्न प्रकृतिको हुने जानकारी दिनुभयो ।
कार्यक्रमको अध्यक्षता गर्नुभएकी भरतपुर महानगर प्रमुख रेणु दाहालले विमानस्थल विस्तारसँगै उक्त स्थानमा आकर्षक पार्क निर्माण गरिने पनि जानकारी दिनुभयो । उहाँले आफ्नो पहिलो कार्यकालदेखि नै विमानस्थलको विस्तारका लागि गरिएको प्रयास सफल गराउन सहयोग र समर्थन गर्नुहुने सबैलाई धन्यवाद दिनुभयो ।
कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री शालिग्राम जमरकट्टेल, बागमती प्रदेशसभा सदस्यहरू हरि सापकोटा र उत्तम जोशीले पनि बोल्नुभएको थियो ।
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ठुलो आर्थिक अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ । ...
काठमाडौं: सोमबार सुनको भाउ तोलामा ६ हजार ५ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन १२ हजार ५ सय रुपैयाँ घटेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको भाउ प्रतितो...
म्याग्दी प्रहरीले एक युवकको हत्या आरोपमा २२ वर्षीय प्रकाश विकलाई पक्राउ गरेको छ । उनीविरुद्ध म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका २४ वर्षीय सौरव विकको हत्या गरेको आरोप छ । हत्य...

